थिएटरमा सीमान्त संगीता

२६ बैशाख २०७५ | जीवन शैली


 

 

‘उराँव जातिबाट रंगमञ्चमा आउने सायद म पहिलो कलाकार हुँ’, शिल्पी थिएटरको क्यान्टिनमा संगीता उराँवले हाँस्दै सुनाइन्। यसो भन्दै गर्दा उनको अनुहारमा गर्व र जिम्मेवारीबोध झल्किन्थ्यो। उनी नाटक ‘सखी’मा व्यस्त थिइन्। उनले गरेको बालिकाको अभिनय सबैले रुचाएका थिए। सखी हेर्न दर्शक फाट्टफट्ट आउन थालेका थिए।

मोरङ छिटाहामा २२ वर्षअघि जन्मिएकी संगीताको थिएटर यात्रा उति लामो छैन। तर, जीवनका घुम्ती धेरै पार गरिन्। उराँव जातिको जनसंख्या नेपालमा करिब ३३ हजार छ। उराँवलाई सीमान्तकृत समुदायमा सूचीकृत गरिएको छ। मधेसका विभिन्न जिल्लामा बसोबास गर्ने उराँव जाति विपन्न जिन्दगी बाँचिरहेका छन्। संगीताले बोल्ने उराँव भाषा नेपालमा बोलिने विभिन्न भाषिक परिवारमध्ये द्रविड भाषिक परिवारअन्तर्गत पर्छ।

संगीताको गाउँमा करिब ६० घर उराँव जातिको बसोबास छ, तीमध्ये ५० घरधुरीसँग आफ्नो जमिन छैन। सबैजना ऐलानी जग्गामा बस्छन्। सबैको टिनको छाना, माटोले टालेको भित्ता छ। संगीता त्यही टिनको छानामुनि हुर्किइन्। बाल्यकाल सम्झिँदै उनी भन्छिन्, ‘हाम्रो गाउँमा प्रायः कसैको नम्बरी जमिन छैन। हामी बाजेबराजुदेखि नै ऐलानी जमिनमा बस्दै आएका छौं।’

संगीताको घर टिन र परालले छाएको छ। माटोले टालेको छ भित्ता। भुइँतलाको घर। त्यही झुपडीमा बुवा धर्मेन्द्र उराँव र आमा श्यामबत्तीदेवि उराँवले दुई छोरी र दुई छोरासँगै संगीतालाई हुर्काए। गाउँका सबै अर्काको खेत अधियाँमा लिएर खेती गर्छन्। संगीताको परिवारको पनि आफ्नो जमिन छैन। अधियाँमा जमिन लिएर उनका आमाबाले संगीतालाई हुर्काए। वर्षभरि कमाएको अन्न जब भित्याउने बेला हुन्छ, त्यस बेला जग्गाधनी ट्याक्टर लिएर आइपुग्छ। आधा अन्न लिएर धुलो उडाउँदै जान्छ ट्याक्टर।

मेरो कथा

संगीताको बूढी हजुरआमा (हजुरआमाको आमा) १०३ वर्ष बाँचिन्। उनैले आफ्नी छोरीलाई सुनाइन् धेरै कथा। संगीता कथा सुन्ने पछिल्लो पुस्ता भइन्। हजुरआमाको काखमा निदाएर संगीताले खुब सुनेकी छन्— कथाहरू। सुनेकी छिन् उराँव जातिको मौखिक इतिहास। संगीतालाई हजुरआमा भन्थिन्, ‘यो गाउँमा सबैभन्दा पहिला जंगल फँडानी गरेर बस्ने हामी नै हौं। त्यस बेला अरू कोही थिएन। बाघभालुले तर्साउँथ्यो। धेरै वर्षपछि पहाडतिरबाट मानिसहरू बसाइँ सरी आए। यादव, तेली, मेता र मुसलमानहरूको बस्ती बस्यो।

मेरो गाउँको कथा, मेरो ठाउँको कथा लेखियो भने म हिरोइन बन्छु। तर, अहिलेसम्म मेरो गाउँको कथा लेखिएकै छैन।’

पछि आएकाहरूले सोझा उराँवबाट जमिन हडपे। अरू धनी हुँदै गए। हामी गरिब हुँदै गयौं।’ आफूले सुनेको इतिहास सम्झँदै संगीता भन्दै थिइन्, ‘हाम्रा हजुरबाहरूले एक बटुका जाँडमा कति जमिन बेचे, बेचे। कति त सित्तैँमा दिए रे।’ संगीताले बुझेकी छन्— त्यसरी नै सिमानामा धकेलिँदै गयो उराँव जाति। सबैभन्दा पहिला जंगल फाँडेर बस्ती बसाउनेहरू भूमिहीन भए। आज उनको गाउँका करिब ९० प्रतिशत उराँवसँग लालपुर्जा छैन।

‘बाउबाजेले सधैं अरूकै काम गर्नुभयो। बचत गर्ने संस्कृति थिएन हाम्रो जातिमा। अहिले पनि बुवा मेहनत गर्नुहुन्छ तर आफ्नो बनाउने र बचाउने गर्नुहुन्न’, संगीता भन्छिन्। जातिसँग जोडिएको त्यही संस्कृतिले उराँव जाति कहिल्यै माथि उठ्न नसकेको संगीताको निष्कर्ष छ। कुनै समय बाहिरको मान्छे बस्तीमा आउँदा आदिवासी-जनजाति उराँव समुदाय ती मानिस देखेर लुक्ने गरेको इतिहास संगीताले सुनाइन्। कृषि पेसा अँगालेका उराँव जातिबारे नेपालमा मनग्य अनुसन्धान भएको छैन। आफ्नो जातिबारे कथा, कविता, उपन्यास, फिल्म र नाटक लेखिनुपर्ने मत राख्छिन् संगीता।

संगीतालाई हुर्काउन बुवा धमेन्द्रले निकै दुःख गरे। अर्काको घरमा ‘हरुवा’ बसे। हलो जोते। गाईबस्तु चराए। दाउरा काटे। सानो हुँदा अर्काको घरमा बुवालाई भेट्न आमाको पछिपछि गएको सम्झना संगीताको स्मृतिमा ताजा छ। धर्मेन्द्र निकै वर्षपछि हरुवा बस्न छोडे। त्यसपछि जग्गा अधियाँ लिएर छोराछोरी हुर्काउन थाले।

मेरो यात्रा

संगीतालाई सानैदेखि नाटकमा रुचि थियो। अभिनय गर्न निकै मन पर्ने। गाउँमा छँदा संगीताले थिएटर शब्द सुनेकै थिइनन्। स्कुलका कार्यक्रममा, चाडपर्वमा नाटक देखाउन सिपालु थिइन्— संगीता। गाउँमा कुनै कार्यक्रम हुँदा संगीताकै माग हुन्थ्यो। उनी गाउँकी सेलिब्रिटी नै थिइन्। अर्काको खेतमा धान रोप्दै, अर्मपर्ममा जाँदै एसएलसी पास गरिन्। त्यसपछि पढ्न खर्च भएन। घरकी ठूली संगीतालाई आमाबाले पढाउन नसक्ने भए। पढ्ने चाहना अधुरै रहनेमा चिन्तित भइन्। उपायको खोजी गर्न थालिन्। उपाय खोज्दै जाँदा गाउँमै प्रौढशिक्षा पढाउने काम पाइन्।

तीन महिना पढाएर ५५ सय रुपैयाँ कमाइन्। त्यही पैसाले ११ कक्षामा भर्ना भइन्। १२ कक्षा पुग्दा फेरि उही पैसाको समस्या दोहोरियो। त्यसै बेला काठमाडौंबाट रंगकर्मी घिमिरे युवराजसहितको टोली सडक नाटकका लागि उनको गाउँ पुग्यो। ढुंगा खोज्दा देवता मिलेजस्तो भयो। एकहप्ता सडक नाटक देखाउँदै सुनसरी घुम्यो टोली। त्यही टोलीमा थिइन् संगीता। सडक नाटकबाट पाँच हजार रुपैयाँ कमाइन्। त्यही पैसाले १२ कक्षा पढिन्।

घिमिरे युवराजसँगको भेटले संगीताको जीवनमा नयाँ मोड थपिदियो। युवराजले संगीतामा सम्भावना देखे। उनैले संगीतालाई पूर्ण छात्रवृत्तिमा शिल्पी थिएटरमा नाटक पढ्ने अवसर दिए। त्यसपछि सुरु भयो संगीताको करिअर चुम्ने यात्रा। थिएटरमा भविष्य अजमाउने सपना बोकेर काठमाडौं पसिन्। नाटकसँगसँगै स्नातक तह पढ्न थालिन्।

काठमाडौं आएपछि संगीताले आधा दर्जनभन्दा बढी नाटकमा अभिनय गरिन्। ‘यल्लो कमेडी’, ‘पाहुनाघरकी साहुनी’, ‘भृकुटी’, ‘अनि देउराली रुन्छ’, ‘दीक्षान्त’, ‘सखी’जस्ता नाटकमा अभिनय गरिन्। अहिलेसम्म अभिनय गरेका नाटकमध्ये ‘यल्लो कमेडी’ उनलाई विशेष लाग्छ। यो नाटकमा संगीताको अभिनयको निकै तारिफ भएको थियो। ‘पाहुनाघरकी साहुनी’मा उनी केटाको क्यारेक्टरमा थिइन्। केटा बन्दै गरेकी संगीता अन्तिममा केटी बनेर मञ्चमा आउँदा प्रेक्षालय अचम्मित भएको थियो। ‘दीक्षान्त’मा लभ सिन गर्न उनलाई निकै गाह्रो भयो। हाँस्दै सुनाउँछिन्, ‘जोसँग लभको कुरा गर्नुपर्ने थियो। उहाँलाई म सधैं दाइ भन्थेँ। लभको फिल फिटिक्कै आएन। निकै गाह्रो भयो।’

संगीताले आजसम्म जति नाटकमा काम गरिन्, त्यहाँ कतै दासी, कतै सामान्य सहयोगी त कतै बच्चाको भूमिकामा अभिनय गरिन्। मूख्य भूमिकामा आफ्नो क्षमता देखाउने अवसर पाएकी छैनन्। रंगमञ्चको छोटो अनुभवलाई एउटा कारण मान्न सकिन्छ। तर, उनको अभिनय क्षमतालाई दर्शकले निकै मन पराउँछन्। जीवन्त अभिनय भन्दै तारिफ गर्छन््, दर्शक। संगीता भन्छिन्, ‘प्रमुख भूमिकामा काम गर्न सबैलाई मन लाग्छ। मलाई पनि लाग्छ। तर, मजस्तो मान्छे प्रमुख भूमिकामा देखिने कथा नै बनेको छैन, अहिलेसम्म। मेरो गाउँको कथा, मेरो ठाउँको कथा लेखियो भने म हिरोइन बन्छु। तर, अहिलेसम्म त्यस्तो कथा लेखिएको छैन।’
 

तपाईको विचार