५ राजनीतिक जोडी

२६ बैशाख २०७५ | जीवन शैली


राजनीतिक यात्रामा सहकार्य गर्दै घरबार जोडेका जोडीहरूको चर्चा गर्दा एमाले र एमाओवादीका शीर्ष नेताहरूको नाम अगाडि आउँछ। प्रधानमन्त्री केपी शर्मा ओली, एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल, रक्षामन्त्री तथा एमाले महासचिव ईश्वर पोख्रेल, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, एमालेकै नेता अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टसहित एमालेका दर्जनौं नेता राजनीति गर्दै प्रेमसम्बन्धम जोडिए। अन्ततः प्रेम फस्टाउँदै गएपछि घरबारसम्म जोडे।

माओवादीका पनि थुप्रै नेताले आफ्नो प्रेमसम्बन्धलाई घरबारसम्म पुर्‍याएका छन्। अहिले पनि थुप्रै युवा तथा विद्यार्थी नेता राजनीति र प्रेमलाई सँगसँगै बढाउँदै केहीले घरबार जोडिसकेका छन् भने केही घरबार जोड्ने तर्खरमा छन्। यहाँ त्यस्तै प्रतिनिधि पाँच युवा जोडीको चर्चा गरिएको छ :

१.नवीना लामा र प्रवीण श्रेष्ठ

अनेरास्ववियुका अध्यक्ष तथा सांसद नवीना लामा ग्ल्यामर र राजनीति दुवै क्षेत्रबाट चर्चित छिन्। झन्डै एक दशक लामो प्रेमसम्बन्धपछि उनले यसै साता (वैशाख १३ गते) प्रवीण श्रेष्ठसँग लगनगाँठो कसेकी छन्। अनेरास्ववियुमै राजनीति गरेर केन्द्रीय सदस्यसम्म बनेका श्रेष्ठ अहिले आफ्नै व्यवसायमा संलग्न छन्। उनी अहिले राजनीतिमा कम र व्यवसायमा बढी सक्रिय छन्। नवीना भने राजनीतिक करिअरलाई नै अघि बढाइरहेकी छन्। लामा भन्छिन्, ‘लामो प्रेमसम्बन्धपछि दुवैतर्फको घरको सल्लाहमै विवाहबन्धनमा बाँधियौं। विवाहपछि पनि दुवैले आआफ्नै करिअर अघि बढाउने समझदारी भएको छ।’ उनीहरूको विवाह अनेरास्ववियुकै संयोजनमा भएको हो।

.रवीन्द्र अधिकारी र विद्या भट्टराई

हालका पर्यटनमन्त्री रवीन्द्र अधिकारी एमालेनिकट अनेरास्ववियुकै पूर्वअध्यक्ष हुन्। एमालेमा चर्चित युवानेताको पहिचान बनाएका अधिकारी प्रेमसम्बन्धपछि नै विवाहबन्धनमा बाँधिएका हुन्। उनकी श्रीमती विद्या भट्टराई राजनीति छाडेर प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा समाजशास्त्र पढाउँछिन्।

३.राजेन्द्र राई र शोभा पाठक

एमालेका केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेशका सांसद राजेन्द्र राई अनेरास्ववियुका पूर्वअध्यक्ष हुन्। स्पष्ट र प्रखर वक्ताका रूपमा परिचित राई पनि प्रेमसम्बन्धपछि घरबार जोड्ने नेतामा पर्छन्। रत्नराज्यलक्ष्मी क्याम्पसमा अध्ययन गर्दा विद्यार्थी राजनीतिमा सक्रिय शोभा पाठकसँग प्रेमसम्बन्ध झाँगिएपछि राईले लगनगाँठो कसे। राई अहिले पूर्ण रूपमा राजनीतिमा सक्रिय रहे पनि पाठक भने शिक्षा क्षेत्रमा सक्रिय छिन्। उनी अहिले स्वयम्भूमा एक विद्यालयको सञ्चालक छिन्।

४.रचना खड्का र लेखनाथ पौडेल

एमाले निकट अनेरास्ववियुको सचिवसम्म बनेकी रचना खड्का अहिले एमालेबाट प्रदेश नम्बर ३ को प्रदेशसभा सदस्य छिन्। सानो उमेरमै एमालेको केन्द्रीय समितिमा पुगेर चर्चित बनेकी खड्का पनि झन्डै एक दशकको प्रेमसम्बन्धपछि अनेरास्ववियुकै राजनीतिमा सक्रिय रहेका लेखनाथ पौडेलसँग विवाहबन्धनमा बाँधिएकी हुन्। त्रिचन्द्र क्याम्पसमा अध्ययन गर्दै राजनीतिमा लागेका पौडेल सोही क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन र अनेरास्ववियुको केन्द्रीय समितिसम्म पुगेका थिए। हाल विद्यावारिधि गरिरहेका पौडेल स्वतन्त्र लेखन, अध्ययन र अनुसन्धानमा सक्रिय छन्।

५. प्रदीप पौडेल र एन्जिला न्यौपाने

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल र एन्जिला न्यौपाने प्रेमयात्रापछि घरबार जोड्ने पछिल्ला चर्चित जोडी मध्येमा पर्छन्। कांग्रेसकै भ्रातृ संगठन नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष हुन् प्रदीप। नेविसंघको केन्द्रीय सदस्यसम्म पुगेकी एन्जिलासँग दुई वर्षअघि विवाहबन्धनमा बाँधिए। आफूहरूको विवाह प्रेमसम्बन्धकै कारण भए पनि बजारमा चर्चा गर्नलायक प्रेम भने नभएको पौडेलको भनाइ छ। पौडेल गत वर्ष सम्पन्न प्रतिनिधिसभाको चुनावमा तनहुँ निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादी नेत्री आशा कोइरालासँग केवल पाँच मतले पराजित भएका थिए। उनी पार्टी राजनीतिमा व्यस्त छन्। श्रीमती न्यौपाने भने अहिले घरकै काममा छिन्।

तपाईको विचार