'कथा' लेडी ड्राइभरको

२६ बैशाख २०७५ | जीवन शैली


‘एसएलसी दिएपछि कोटेश्वरमा आएर टेम्पो चलाउन सिकेँ। डरले मुटु ढुकढुक हुन्थ्यो। कसरी मोड्ने, कसरी बे्रक लगाउने ? म अलमल हुन्थँे। तर, मलाई जसरी पनि सिक्नु थियो,’ यात्रुको प्रतीक्षामा काठमाडौं मल अगाडि भेटिएकी २८ वर्षीया सुष्मा धिमाल आफ्ना संघर्षका दिन सम्झँदै थिइन्।

उनी भन्दै थिइन्, ‘दुई हप्तामा मैले चलाउन सिकेँ। सिकिसकेपछि धेरै दिन खाली टेम्पो कुदाएँ। सुरुमा कम्ता गाह्रो भएन। कताकता ठोक्काएँ, लडाएँ। टेम्पो कुचियो। घाइते भएँ। त्यसपछि बल्ल म पक्का डाइभर बनेँ,’ टेम्पोको स्टेरिङ घुमाउँदै सुष्माले भनिन्। हिम्मत र हौसला झल्किन्थ्यो अनुहारमा।

श्रीमान् र दुई छोराको साथमा सीतापाइलामा बस्दै आएकी सुष्माले काठमाडौंको भीडमा ट्याम्पु कुदाउन थालेको एक वर्ष बित्यो। सबैबाट साथ र माया पाएकी छिन्। यो पेसामा लाग्दा कसैबाट हेपिएको, चित्त दुखेको उसलाई अनुभव छैन। जिन्दगीमा केही गर्न श्रीमान्ले नै हौसाए। टेम्पो चलाउन पनि सिकाए। हरेक अप्ठ्यारा पलहरूमा ट्राफिक दाइहरू र टेम्पो चालक दिदीहरूले उनलाई हौसला दिए। त्यसैले त हप्ताको सातै दिन सुष्मा निर्धक्क टेम्पो चलाउँछिन्।

‘विदेश जाने हुटहुटी थियो। तर हातमा सीप त चाहियो नै। त्यसो भए नेपालमै किन केही नगर्ने ? ’ सुष्माको हातमा कुनै सीप नहुँदा यस्तै सोचिन्। ‘सबै दिदीहरूले टेम्पो चलाएको देख्दा मलाई पनि रहर लाग्यो। लाइसेन्सको पहिलो ट्रायलमा म फेल भएँ। तर हरेस खाइनँ। जीवन भनेकै फेल र पासको संगम जस्तो लाग्यो। त्यसपछि फेरि ट्रायल दिएर पास भएँ।’

चर्को भीडभाड हुने काठमाडौं मलको पल्लो कुनामा यात्रुको प्रतीक्षा गरिरहेकी थिइन् अर्की महिला टेम्पो चालक कुमारी सार्की। ३२ वर्षीया उनी पनि आठ वर्षदेखि काठमाडौंको गल्लीगल्लीमा टेम्पो कुदाउँदै हिँड्छिन्। उनलाई दिनभरि साहुको टेम्पो चलाएर साँझ पैसा बुझाउनुपर्ने दैनिकी मन परेन। अलिअलि कमाइ भएपछि आफ्नै टेम्पो किन्ने निर्णयमा पुगिन्। भन्छिन्, ‘साथमा धेरै पैसा थिएन। बैंकबाट कर्जा लिएर टेम्पो किनेँ। यही टेम्पोले धानेको छ मेरो जिन्दगी। उनको प्रत्येक दिन बिहान ५ बजे सुरु हुन्छ दैनिकी। घर खर्च चलाउन, बालबच्चा पढाउन उनलाई पुगेको छ।

दिनभरिका अप्ठ्याराहरू पनि कम छैनन् उनका। कहिले यात्रु टेम्पोभरि हुँदैनन्, कहिले गाडी एक्सिडेन्टमा पर्छ। कहिले कुदाउँदा कुदाउँदै बिग्रिन्छ। त्यहीमाथि लोन लिएर किनेको टेम्पो। कुमारी गम्भीर हुँदै भन्छिन्, ‘ऋण तिर्न अझै सकिएको छैन। ब्याट्री पनि एक जोर चाहिन्छ। चार्ज गरिरहनु पर्छ

 ‘कताकता ठोक्काएँ, लडाएँ। टेम्पो कुच्चियो। घाइते भएँ। त्यसपछि बल्ल म पक्का ड्राइभर बनेँ।’

।’ बिहान साढे पाँच बजे ग्यारेजबाट निस्किएको कुमारीको टेम्पो दिउँसो १२ बजे त्यही पुगेर रोकिन्छ। छोरीले खाना लिएर आउँछिन्। कुमारी हतारहतार खाना खान्छिन्। एकैछिन् छोरीसँग गफिन्छिन् अनि फेरि टेम्पो लिएर निस्किन्छन् महानगरको घुम्ती मोड छिचोल्दै।

कुमारीलाई टेम्पो कुदाउनुकै हतार छ। अन्य जागिरमा जस्तो छुट्टीको सुविधा छैन। सातै दिन टेम्पो कुदाउनु कुमारीको दिनचर्या हो। भन्छिन्, ‘बिदा किन चाहियो ? आफ्नै टेम्पो हो। जति कुदाए पनि भयो। जति कमाए पनि भयो।’ उनको आवाजमा गर्व झल्किन्थ्यो। सात वर्षदेखि काठमाडौंको सडकमा टेम्पो हुँइकाइरहेकी उनी खुसी थिइन्। कुमारीको पनि टेम्पोमा यात्रु भरिए। उनी हर्न बजाउँदै रत्नपार्कतिर हुइँकिइन्।

भरिभराउ यात्रु बोकेर आइपुगिन् अर्की टेम्पो चालक। धुलोले कैलो देखिएको थियो कपाल। मुखमा मास्क लगाएकी थिइन्। चानचुन पैसाको थैलोमा बोकेकी थिइन्। मुसुक्क मुस्कुराउँदै उनी टेम्पोको पछिल्लो सिटमा कुरा गर्न आइपुगिन्। उनी थिइन् ३० वर्षीया प्रमिला विसङ्खे।

स्नातक तहसम्म अध्ययन गरेकी प्रमिला बाठी देखिन्थिइन्। उनले भनिन्, ‘हस्पिटलमा नर्स भन्ने बित्तिकै मानिसको आँखामा अर्कै दृश्य आउँछ। टेम्पो चालक भन्नेबित्तिकै कुर्ता सुरुवाल लगाएकी सोझी गाउँले युवतीको दृश्य मानिसका आँखामा आउँछ। जुन गलत हो।’ उनी पढेका मानिसले यस्तो पेसा गर्न नहुने धारणा समाजमा गलत भएको बताउँछिन्। श्रमलाई सम्मान गर्नुपर्न बताउँछिन् उनी। काम सानो ठूलो नहुने विचार राख्ने प्रमिलाले सहरमा टेम्पो कुदाउन थालेको आठ वर्ष बित्यो। ६ वर्ष अघिबाट वैवाहिक सम्बन्धमा रहेकी प्रमिलाले काखे बच्चा हुँदासमेत टेम्पो चलाउन छाडिनन्। उनीको बोल्ड आवाज सुन्दै गर्दा यस्तो लाग्थ्यो उनी एक दबंग लेडी ड्राइभर हुन्।

‘मेरा दुई छोराछोरी छन्। दुई सन्तानलाई एक्लै हुर्काउँदै आएकी छु’, आँसु भरिएको आँखा चिमचिम पार्दै विमला गौतम (३५) ले भनिन्, ‘सन्तानलाई अरूसरह पाल्नै पर्‍यो।’ उनलाई डर छ- छोराछोरीले आफूबाट बुबाको जस्तै माया पाउँदैनन् कि भन्ने !

दिउँसो दुई बजे, घामको रापले सडक तात्तिएको छ। न्युरोड गेटअघिको चौथो नम्बरमा ट्याम्पु बिसाएर विमला आफ्नो क्यु पर्खिरहेकी छन्। घामले डढेको छ उनको अनुहार। थकान र प्यासले फतक्कै गलेकी छन्। उनी एक बोतल पानी मगाउँछिन्। ‘काम गर्न रमाइलो लाग्छ’, विमला भन्छिन्, ‘मलाई काम गर्न कहिल्यै अल्छि लाग्दैन।’ ८ वर्षदेखि काठमाडौंका सडकमा ट्याम्पु चलाउँदै आएकी विमला छाउनीमा बस्छिन्।

बच्चाहरू पढाउन आजभन्दा ९ वर्ष पहिले उनी सिन्धुलीबाट काठमाडौं पसेकी थिइन्। ट्याम्पु चलाउन थालेपछि आफ्नो जीवनमा परिवर्तन आएको ठान्छिन् उनी। ‘अब आफ्नो परिवारको छाक टार्न कसैसँग हात फैलाउनुपर्दैन’, भन्छिन्, ‘हामीलाई अन्त्यसम्म साथ दिने भनेको हाम्रो हातको सिप मात्रै हो।’ अघिसम्म रोइरहेकी विमलाको अनुहारमा बिस्तारै मुस्कान फैलिँदै थियो।

एन्एसीबाट ५४ ट्याप्पु विभिन्न रुटमा कुद्छन्। तीमध्ये यहाँ २५ भन्दा बढी महिला ट्याम्पु ड्राइभर कार्यरत छन्।

प्रमिलाकै छेउमा हर्न बजाउँदै आइपुगिन् जुनीमाया नेपाली। अलग रुटबाट आएको भए पनि महिला चालकहरू एकअर्कामा हितैषी व्यवहार गर्छन्। उनले दस टिप गरिसकेकी छिन्। पोल्टामा जम्मा भएको छ तीन हजार रुपैयाँ। प्रत्येक दिन तीन हजार नै साहुलाई बुझाउनुपर्छ उनले। तीन हजारभन्दा बढी भए त्यो पैसा उनको हुनेछ।

 साथै साहुले उनलाई दैनिक तीन सय ५० रुपैयाँ भत्ता पनि दिएका छन्। जुनीमायालाई साहुको टेम्पो चलाउन मै मज्जा लाग्छ। हाँस्दै भन्छिन्, ‘आफ्नो भयो भने बिग्रेला कि भन्ने डर हुन्छ। धेरै पैसा खर्च हुन्छ। साहुको चलायो आनन्दै हुन्छ नि।’

२५ वर्षीया जुनीमायाले टेम्पो चलाउन थालेको एक वर्ष बित्यो। त्यसभन्दा अगाडि उनी सिलाइबुनाइको काम गर्थिन्। १२ कक्षा सम्म अध्ययन गरेकी जुनीमायालाई पनि सुरुमा टेम्पु चलाउँदा निकै गाह्रो भयो। चलाउन जानेको दुई महिनासम्म त डरले घरमै बसिरहिन्। त्यसपछि हिम्मतका साथ उनी निस्किइन् टेम्पोको स्टेरिङ समाउन। भन्छिन्, ‘डरलाई पर हटाएर हिम्मतले काम गर्ने हो भने नसकिने केही पनि रहेनछ।’

तपाईको विचार